काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको सभा ताम्राकार पार्टी भेन्युमा सम्पन्न भएको हो । सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने संस्थाको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रगति प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ । लेखापरीक्षण प्रतिवेदन सहित आर्थिक वर्ष २०७८/७९ को वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण सहित सम्बन्धित अनुसूचिहरु लगायतका वित्तीय विवरण माथि छलफल गरी पारित गरेको छ ।

सभाले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६३ र कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार यस वित्तीय संस्थाको आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ ।

सभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने, नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय लगायतका अन्य नियमनकारी निकायहरुबाट स्वीकृति लिने, अभिलेख गर्ने, प्रबन्धपत्र नियमावलीमा कुनै विषयमा संशोधन एवं परिवर्तन गर्न निर्देशन भएमा सो समेत मिलाई संशोधन एवं परिवर्तन गर्ने लगायतका अन्य सम्पूर्ण कार्य गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

सभाले यस वित्तीय संस्थाले अन्य ईजाजत पत्र प्राप्त “घ” बर्गका कुनै पनि लघुवित्त वित्तीय संस्थासंग एक आपसमा गाभ्ने /गाभिने तथा प्राप्ती समाहित हुने प्रयोजनका लागि उपयुक्त लघुवित्त वित्तीय संस्थाको पहिचान गर्ने, सहमति पत्रमा हस्ताक्षर गर्ने सो को आधारमा सैद्धान्तिक स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा निवेदन दिने प्रस्ताव पारित गरेको छ ।

त्यसैगरी सम्पति तथा दायित्वको मुल्याङ्कन गर्न, परार्मशदाता, मूल्याङ्कनकर्ता, लेखापरीक्षक नियुक्ति गर्न र निजको पारिश्रमिक निर्धारण गर्न, अन्य वित्तीय संस्थाहरूको शाखाहरु खरिद तथा प्राप्ती गर्ने लगायतका कार्यहरुसंग सम्बन्धित आवश्यक कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने लगायतका प्रस्ताव पारित गरेको जनाएको छ ।
https://insurancekhabar.com/%e0%a4%85%e0%a4%ad%e0%a4%bf%e0%a4%af%e0%a4%be%e0%a4%a8-%e0%a4%b2%e0%a4%98%e0%a5%81%e0%a4%b5%e0%a4%bf%e0%a4%a4%e0%a5%8d%e0%a4%a4%e0%a4%95%e0%a5%8b-%e0%a4%a4%e0%a5%87%e0%a4%b8%e0%a5%8d%e0%a4%b0%e0%a5%8b/